News » नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला�२०१२ को औपचारिक समुद्घाटन (२०६८/१२/२३)


Date : Apr 5, 2012
Location : Kathmandu

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवज्यूबाट नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०१२ (Nepal International Trade Fair - NITF) को आज एक विशेष समारोहका बीच भृकुटीमण्डप प्रदर्शनीस्थल, काठमाडौंमा समुद्घाटन सुसम्पन्न भयो । नेपाल सरकारको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित अन्तर्राष्ट्रिय व्यापार मेला चैत्र २७ गतेसम्म संचालन हुने छ ।


समुद्घाटन समारोहमा मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, कुटनीतिक नियोगका पदाधिकारीहरु, उद्योगी व्यवसायीहरु, आम नागरिकहरुको उपस्थिति रहेको थियो । सो अवसरमा वाणिज्य मन्त्री लेखराज भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, महासंघको ब्रण्डिङ तथा आयश्रोत परिचालन समितिका सभापति कल्याणकृष्ण ताम्राकारले सम्वोधन गर्नु भएको थियो ।


नेपालको निर्यात व्यापारलाई सघाउने उद्देश्यले महासंघद्वारा आयोजना गरिएको यो मेलामा ३८० वटा स्टल मार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाहरुको प्रदर्शनी गरिएको छ । नेपालको निर्यातजन्य वस्तुहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो मेलामा नेपालका अतिरिक्त भारत, भुटान, बंगलादेश, चीन, पाकिस्तान आदिका प्रर्दशकहरुको सहभागिता रहेको छ ।


मेलामा भारतका ६ वटा, चीनको ३० वटा, बंगलादेशका ७ वटा, पाकिस्तानको ७ वटा र भुटानका २ वटा स्टलहरु मर्फत ती देशका वस्तु तथा सेवाहरुको प्रदर्शनी गरिएको छ । चाइना सिचुवान पेभिलियनको औपचारिक शुभारम्भ भने भोली शुक्रवार हुने कार्यक्रम छ ।


नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल हस्तकला महासंघ, नेपाल चीन कार्यकारी परिषद् समेतको सह-आयोजनमा यो मेला भैरहेको छ । मेलामा हस्तकला पेभिलियोन, घरेलु तथा साना उद्योग पेभिलियन, चीनियाँ पेभिलियोन, एक गाउँ एक उत्पादन पेभिलियन सहित पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको कला संस्कृति, चिया कफि, मह, जडीवूटी, हाते गलैचा, आवासीय योजना, नविकरणीय उर्जाको छुट्टाछुट्टै पेभिलियनहरु मार्फत प्रदर्शनी गरिएको छ । मेलालाई वस्तु तथा सेवाको खरिद बिक्रीको माध्यम बनाउने भन्दा पनि यसलाई समग्र राष्ट्रको शो केसको रुपमा प्रस्तुत गर्ने योजना छ ।


मेलामा विशेषगरी तयारी पोशाक, विद्युत तथा विद्युतीय सामाग्रीहरु, अर्गानिक उत्पादनहरु, बेकरी तथा यससंग सम्बन्धित उपकरणहरु, सूचना प्रविधि, स्वदेशी तथा विदेशी हस्तकलाका सामग्रीहरु, छालाका उत्पादनहरु, प्रशोधित खाद्यान्नहरु रहेका छन् । मेलामा सजाईएका पेभिलियनहरुको वैज्ञानिक मुल्यांकन गरी उनीहरु बीच प्रतिस्पर्धा गराउने, मेलामा उत्कृष्ट क्रेताहरु समेतलाई सम्मान गरिएको छ । मेला अवधिभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा छलफल, अन्तरक्रिया तथा राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्तित्वहरु बीच महत्वपूर्ण व्यावसायिक भेटवार्ता समेत हुने छ ।


मेलाको मुख्य प्रायोजकमा नेपाल टेलिकम रहेको छ भने प्रायोजकमा सूर्य नेपाल, सह-प्रायोजकमा शिखर सुज प्रालि रहेका छन् । त्यसैगरी आधिकारिक मेडियामा कान्तिपुर ग्रुप अफ कम्पनिज, आधिकारिक र्बैक स्ट्याण्डर्ड चाटर्ड, आधिकारिक एयरलाइन्स कटार एयरवेज, आधिकारिक ट्राभल एजेन्सीमा सी एण्ड के टुर्स एण्ड ट्राभल्स प्रा.लि., आधिकारिक कार्गोमा गणेश कार्गो प्रा.लि., आधिकारिक इन्स्योरेन्समा एभरेष्ट इन्स्योरेन्स प्रा.लि. रहेका छन् । कम्युटर एसोसिएसन नेपाल, वल्र्ड भ्यू नेपाल आदिले पनि मेलालाई सहयोग पुर्‍याउने छन् भने मेलालाई नेपालका प्रतिष्ठित व्यावसायिक घरानाहरु वैद्यज अर्गनाइजेशन गोल्छा अर्गनाइजेशन, मुरारका अर्गनाईजेशन, डाबर नेपाल, सिभिल होम्स, कान्तिपुर ग्रुप अफ कम्पनीज, डाउनटाउन हाउजिङ प्रा.लि आदिले सहयोग पुर्‍याउने छन् ।


स्वदेशी तथा विदेशी गरी करिव दुई लाख आगन्तुकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको यस मेलालाई दक्षिण एशियाली क्षेत्रमा अत्यन्त महत्वका साथ हेरिएको छ भने मेलामा सहभागिताका लागि सार्क क्षेत्रका सदस्य राष्ट्रहरुबाट उत्साहजनक सहभागिता भैरहेको छ ।


सन् २०१२-१३ लाई नेपाल लगानी वर्षका रुपमा मनाउने तयारी भैरहेको सन्दर्भमा आयोजित नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला लगानी वर्ष अभियानलाई सफल पार्न समेत सहयोगी हुने महासंघको विश्वास छ 

 
 

Other News :