News » प्रदर्शनीमा २२ हजार जोर जुत्ता बिक्री


Date : Dec 31, 2014
Location : Kathmandu

काठमाडौं-एक हप्तासम्म सञ्चालन भएको छाला वस्तु तथा जुत्ता चप्पलको एघारौं औद्योगिक प्रदर्शनीमा २२ हजार जोर जुत्ता चप्पल बिक्री भएका छन्। मंगलबार सकिएको प्रदर्शनी ९५ हजार दर्शकले अवलोकन गरेको छाला जुत्ता तथा वस्तु उत्पादक संघका अध्यक्ष होमनाथ उपाध्यायले बताए। ‘दर्शकको संख्या उल्लेख्य रह्यो,' उनले भने, ‘एघारौं प्रदर्शनीसम्म आइपुग्दा हामी अझ उत्साही भएका छौं।'


यस प्रदर्शनीमा कपडा तथा सिलाई व्यवसायी संघको पनि सहभागिता थियो। सुट र बुटको संयुक्त प्रदर्शनी प्रभावकारी भएको उपाध्ययले बताए। ‘हाम्रो स्लोगन पनि मिल्यो,' उपाध्ययले भने, ‘सुट र बुट एकै ठाउँमा प्रदर्शनी गर्दा दर्शकले मन पराएका छन्। '

उपाध्ययले यस प्रदर्शनीमा आएका दर्शकमध्ये ३१ सयले पाइन्ट, सर्ट, सुटको लागि बुकिङ गराएका छन्। आगामी प्रर्दशनीमा पनि सुट र बुटसँग प्रदर्शनी गर्ने योजना बनाएको उनले बताए। 


प्रदर्शनी अवधिभर सरकारी कर्मचारी, व्यावसायी, राजनीतिक पार्टीका नेताहरू लगायतको उपस्थिति थियो। उद्योगमा दुई लाखभन्दा धेरैले रोजगारी पाएका छन्। संघले पाँच वर्षे योजनाअनुसार काम गरिरहेको बताउँदै यस अवधीमा रोजगारी तेब्बर बनाउने जनाएको छ। यस क्षेत्रमा ६० प्रतिशत स्वदेशी र ४० प्रतिशत विदेशी जनशक्ति कार्यरत छन्। 


स्वदेशी रोजगार र उद्योगको क्षेत्रमा छाला जुत्ता चप्पलले ठूलो योगदान पुर्यानएको बताउँदै उपाध्ययले निर्यातमा पनि अगाडि रहेको जानकारी दिए। स्वदेशी वस्तुको निर्यातमा निरन्तर नेपाली जुत्ताचप्पल अग्रणी रहेकोले पुरस्कार पाइरहेको बताउँदै भारत निर्यातमा सफल भएको बताए। 

कपडा तथा सिलाई व्यवसायी संघले २५ हजार व्यवसायी रहेको र २ लाखलाई रोजगारी सिर्जना गर्न सफल रहेको जनाएको छ। अहिले ५१ जिल्लामा सिलाई व्यवसायीको कार्यसमिति बनिसकेको जानकारी संघले दियो। ‘सामुहिक व्यापार चिह्नको प्रयोगः स्वदेशी उत्पादनको पहिचान' भन्ने नाराका साथ प्रदर्शनी सम्पन्न भएको छ। 


हाल नेपालमा घरेलु तथा साना उद्योग विभाग र समितिमा ८ सय ५० छाला जुत्ता सम्बन्धी उद्योग दर्ता छन्। दुई हजारभन्दा बढी उद्योग तथा व्यावसायी रहेको अनुमान छ। यी उद्योगमा झण्डै ५० हजारको हाराहारीमा प्रत्यक्ष रोजगारी सिर्जना भएको छ। जसमध्ये ३० प्रतिशतको संख्या महिलाको रहेको संघले जनाएको छ। संघका अनुसार नेपाली बजारमा जुत्ता चप्पलको माग वार्षिक करिब ५ करोड जोर छ। यसमध्ये ६० देखि ६५ प्रतिशत स्वदेशी उत्पादनले पूर्ति गर्ने गरेको छ। जुत्ता व्यवसायी पनि नेपाली जुत्ता उद्योगले सफलता पाउँदै गएको बताउँछन्। रन सुज सञ्चालक रुद्र न्यौपानेले यस उद्योगले देशको अर्थतन्त्रमा सहयोग गरेको बताए। स्वदेशी उत्पादन बारे आम उपभोक्तालाई स्थलगत अवलोकन गराउने, स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने, विदेशी जुत्ता चप्पल र वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी मुलुकलाई आत्मनिर्भर बनाउने लगायतका उद्देश्य राखेर प्रदर्शनी गरिएको संघले जनाएको छ।


श्रोतः नागरिक दैनिक http://www.nagariknews.com/economy/market/story/30546.html

 
 

Other News :