News » मेड इन नेपाल प्रदर्शनीको तयारी पुरा, २७ गतेदेखि ३० गतेसम्म चल्ने, एकसय ३० वटा स्टल रहने


Date : Apr 5, 2015
Location : Kathmandu

काठमाडौं । स्वदेशमा उत्पादित सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको पाँचौं ‘मेड इन नेपाल’ प्रदर्शनीको तयारी पुरा भएको छ । यही चैत २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा नेपाल युवा उद्यमी मञ्च (एनवाईइएफ)ले प्रदर्शनी गर्न लागेको हो । 
‘हाम्रो पनि राम्रो पनि’ नारा दिइएको प्रदर्शनीले स्वदेशी बस्तु प्रयोग गरी आयात प्रतिस्थापनमा सहयोग गर्ने प्रदर्शनी आयोजक कमिटीका अध्यक्ष सुदर्शन बस्नेतले बताए । नेपालमा उत्पादित बस्तुहरुको अधिकतम प्रयोग नभएसम्म देशले आर्थिक विकास गर्न नसक्ने भएकाले एनवाइइएफले आगामी मेमा युवा उद्यमी सम्मेलन पनि आयोजना गर्ने भएको छ । 

युवा उद्यमी मञ्चले उद्यमशीलताको विकासको लागि आएको भन्दै बस्नेतले ‘मेन इन नेपाल’लाई प्रदर्शनीको रुपमा मात्रै नभएर अभियानकै रुपमा अघि बढाइरहेको बताए । यो अभियानलाई सन् २०१५ भित्रै मलेसिया र कतारमा पनि लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।  
 
नेपालमै उत्पादित बस्तुको प्रर्दशनीले नेपाली ब्राण्डलाई स्थायित्व दिन सहयोग गर्ने र अन्तर्राष्ट्रिय बजारमा नेपाली बस्तुको निर्यात बढाउन सहयोग गर्ने आयोजकले जनाएको छ । 
प्रदर्शनीमा नेपाली बस्तु उत्पादन लगायत नेपाली सिने उद्योग, नेपाली म्युजिक उद्योग, साना तथा घरेलु उद्योग, हस्तकला उद्योग सहभागी हुनेछन । यस बाहेक ७५ जिल्लाका ठाँउ विशेष पहिचान बोकेका बस्तुहरु पनि प्रर्दशनीमा समावेश गरिने आयोजकले जानकारी दिए । 
नेपालमा उत्पादित बस्तु गुणस्तरीय छन भन्ने चिनाउनको लागि यस्तो प्रदर्शनी निकै उपयोगी हुने नेपाल युवा उद्यमी मञ्चका उपाध्यक्ष बरुण लोहियाले बताए । 
मेलामा एकसय ३० वटा स्टल रहेनछन । जसमध्ये, ३० वटा स्टल साना तथा लघु उद्यमका रहने छन् । ३० प्रतिशतभन्दा बढी आन्तरिक मूल्य अभिवृद्धी भएका सामान प्रदर्शनीमा रहने छ । भृकुटी मण्डप हल बाहिर भने नेपाली खानेकुराको ‘टिपिकल फुड फेस्टिबल’ हुनेछ । 
चार दिनसम्म चल्ने मेलामा प्रवेश शुल्क २० रुपैयाँ तोकिएको छ भने राष्ट्रिय पोशाक वा नेपाली संस्कृति झल्कने पोशाक लगाएर जाने अवलोकनकर्तालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको बस्नेतले बताए । 
मेलाको व्यवस्थापन राइज ग्लोबल प्रालिले गरेको छ भने मेलाको मूख्य प्रायोजन शिवम सिमेन्टले गरेको छ । 

श्रोतः http://www.bizmandu.com/content/-11235.html#.VSFebPmUeYA

 
 

Other News :