News » नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०१४ आज तेश्रो दिनमा दर्शकहरुको चाप बढ्दो, एमाले अध्यक्ष खनाल र मुख्य सचिवबाट मेलाको अवलोकन


Date : Mar 8, 2014
Location : Kathmandu

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भृकुटीमण्डपमा संचालन भैरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०१४ Nepal International Trade Fair-2014 मा दर्शकहरुको चाप निकै उच्च रहेको छ । मेला आगामी फागुन २६ गतेसम्म चल्ने छ ।

मेलाको आज नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष झलनाथ खनाल र नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेलले अवलोकन गर्नुभयो । साथै वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव माधव प्रसाद रेग्मी तथा सहसचिव तोयानारायण ज्ञवालीले पनि मेलाको अवलोकन गर्नुभयो । राजनीतिक दलका नेताहरुबाट पनि मेलाको अवलोकन भैरहेको छ ।




मेलाकै अवसरमा होटल याक एण्ड यतिमा संचालन भएको बहुमुल्य गरगहनाको प्रदर्शनी एनआइटीएफ जेम्स एण्ड जैवलरी शो आज सम्पन्न हुंदैछ । उक्त शोमा दर्शक तथा आगन्तुक व्यवसायिक प्रतिनिधिमण्डलको उत्साहजनक सहभागिता रहेको छ ।


मेलामा भाग लिन आएको चिनिया व्यवसायिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायिक प्रतिनिधिमण्डल बीच भोली आइतवार मेला स्थलमा व्यवसायिक भेटवार्ता समेत हुंदैछ । भोली नेपालका चर्चित कलाकारहरु धर्मेन्द्र सेवाङ, कमल खत्री र जुनु राईको प्रस्तुती सहित सांस्कृतिक कार्यक्रम समेत हुने कार्यक्रम छ ।

सम्माननीय राष्ट्रपति डा. यादवको प्रमुख आतिथ्यतामा विहीवार समुद्घाटन भएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१४ नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा विभिन्न संघ संस्थाहरुको सहकार्यमा आयोजना भएको हो ।

अन्तराष्ट्रिय व्यापार मेलामा २ सय ८० वटा स्टल मार्फत वस्तु तथा सेवाको प्रदर्शनी भएको छ । मेलामा भारत, चीन, वंगलादेश, पाकिस्तान, थाइल्याण्ड लगायतका देशका कम्पनी तथा चीन, जापान, थाइल्याण्ड लगायतका खरिदकर्ताहरुले मेला अवलोकन गर्ने कार्यक्रम छ । मेलामा स्वदेशी १ सय ७५, वंगलादेश ५४ वटा, चीन २१, पाकिस्तान २०, भारत ५, थाइल्याण्ड १, ठुला उद्योग प्रतिष्ठानका ४ वटा वटा स्टलहरु रहेका छन् । मेलामा चीनको व्यापार विकास व्यूराका उपमहानिर्देशक चु च्वाङ चुको नेतृत्वमा चिनियां व्यवसायिक प्रतिनिधिमण्डलले भाग लिइरहेको छ भने वंगलादेशको वंगला क्राफ्टका अध्यक्ष एसयू हैदरको नेतृत्वमा व्यवसायीहरुले भाग लिइरहेका
छन् ।

मेलामा नेपाल कक्षमा एनटीआइएसका १९ वटा वस्तुहरुको विशेष प्रर्वद्धन गरिएको छ भने तीनको अन्तराष्ट्रिय खरिदकर्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने कार्य भैरहेको छ । मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तराष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसंग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारे छलफल समेत भैरहेको छ ।

महासंघको सदस्य नेपाल हस्तकला महासंघ र नेपाल जडीवूटी उत्पादक संघ यस वर्षको मेलाको सहआयोजक रहेका छन भने महासंघका सदस्यहरु नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल रत्न तथा आभुषण संघको मेलामा सहभागिता रहेका छन् । मेलाको अफिसियल एयरलायन्समा इत्देहाद एयरलाइन्स, प्रायोजकमा पानीपोखरी हाइट्स, अफिसियल कार्गोमा गणेश एयर कार्गो, प्रवद्र्धकमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र सर्पोटिङ कर्पोरेट हाउसमा नेपाल टेलिकम, राकुरा, डवल ए, राज एडभरटाइजिङ, सान फर्निचर र पाकिस्तानको म्याव एक्सपोर्ट, वंगलादेशको सार्क ट्रेडिङ एण्ड मार्केटिङ इन्टरनेशन अफिसियल इन्टरनेट प्रोभाइडरमा वल्र्ड लिंक, इभेन्ट म्यानेज एक्सो एण्ड इभेन्ट, र डीइसीसी रहेका छन् ।

 
 

Other News :